विश्वकपमा अाज

विश्वकपको समूह सी मा कोलम्बिया र ग्रिस तथा आइभरी कोष्ट र जापान भिड्दा ग्रुप अफ डेथको उपनाम पाएको समूह डीमा उरुग्वे र कोष्टारिका तथा इङ्गल्याण्ड र इटाली प्रतिस्पर्धा गर्दैछन् । जापान र आइभरी कोष्टबीच भोलि बिहान ६:४५ बजे खेल हुनेछ भने इङ्गल्याण्ड र इटाली बिहान ३:४५ भिड्नेछन् । बाँकी खेलहरु आज मध्यरात सम्ममा हुँदैछन् ।
बेलो होरिजोन्तेमा हुने खेलमा कोलम्बिया आफ्ना महत्वपूर्ण खेलाडीको चोटले पिरोलिएको छ । १६ बर्षपछि विश्वकपमा छनोट हुँदा समेत राडामेल फाल्काओ, एड्विन भ्यालेािन्सया, लुइस परेरा र अल्डो रामिरेजलाई चोटकै कारण विश्वकपअघि नै गुमाएको टोलीबाट आज फ्रेडी गुआरिन पनि खेल्न नपाउने भएका छन् । लस क्याफेतिरोसको उपनाम पाएको कोलम्बियाले विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । विश्वकपका १३ खेलमा ८ मा हार व्योहोरेको टोलीलाई प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु नै ठूलै चुनौती छ । टोलीका दोस्रो रोजाईका गोलरक्षक फरिद मोन्ड्रागनले ब्रजिलमा मौका पाए, विश्वकप खेल्ने सवैभन्दा पाका खेलाडी बन्नेछन् । उनी हाल ४३ बर्षका भए । उनले क्यामरुनका रोजर मिल्लाको ४२ बर्षको किर्तिमान भंग गर्नेछन् ।  ग्रिस पनि दक्षिण अमेरिकी टोलीबिरुद्धको खराब नतिजामा सुधार ल्याउन चाहन्छ । दक्षिण अमेरिकी राष्ट्रसँग विश्वकपमा भएका दुई भेटमा ग्रिस समग्रमा ६–० ले पराजित भएको थियो । दुबै पटक उ अर्जेन्टिनासँग हारेको हो । खेल नेपाली समय अनुसार ९:४५ बजे हुनेछ ।
समूह डी को फोर्टालेजामा हुने पहिलो खेलमा उरुग्वे र कोष्टारिका दुबै खेलाडीको चोटले पिरोलिएका छन् । लुईस स्वारेज घुँडाको चोटबाट मुक्त भएर प्रशिक्षणमा सहभागी भएपछि उरुग्वेली टोलीको पीर केही कम भएको छ । एल्भारो साबोरियो प्रतियोगिता खेल्न नसक्ने भएपछि जोल क्याम्पवेलमा कोष्टारिकाको आक्रमणको जिम्मेवारी थपिएको छ । दुई पटकको विश्वकप विजेता उरुग्वे आयोजक ब्रजिललाई १९५० मा जस्तै पराजीत गरेर तेस्रोपटक जुल्स रिमेट कप उचाल्ने योजनामा छ । सन् १०९३० मा आफ्नै भूमिमा भएको पहिलो विश्वकपमा उरुग्वेले अर्जेन्टिनालाई हराएर विश्वकप उचालेको थियो । पछिल्ला ८ भेटमा कोष्टारिकालाई पराजित गर्दै आएको उरुग्वे सन् २००६ देखि ओस्कार तावरेजको प्रशिक्षणमा छ । जुन विश्वकपका अन्य बाँकी प्रशिक्षकहरुको कार्यकालभन्दा धेरै लामो हो । तर समूहगत चरणको पहिलो खेलमा राम्रो नतिजा निकाल्दै  आएको कोष्टारिका उरुग्वेका लागि टाउको दुखाइ हुनसक्छ । ३ मध्ये २ पटकको उद्घाटन खेलमा जित हात पारेको कोष्टारिकाले सन् १९९० मा स्कटल्याण्ड र २००२ मा चीनलाई शिकार बनाएको थियो । खेल राति १२:४५ बजे शुरु हुनेछ ।  
मनाउसको एरिना एमेजोनियामा चारपटकको विजेता इटाली र एकपटक मात्रै विश्वकप उचालेको इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदा स्टार खेलाडीहरु केन्द्रबिन्दु बन्नेमा कुनै शंका छैन । स्ट्राईकर ड्यानी वेलबेक, वायन रुनी, स्टेफन जेरार्ड, ड्यानियल स्टुरिज, फ्रर्याङ्क लाम्पार्ड, रिकी लामबर्ट जस्ता खेलाडीले भरिएको इङ्ल्याण्ड उच्च मनोबलका साथ मैदान ओर्लने छ । तर, सन् १९९० मा विश्वकपको तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा इटाली २–१ ले विजयी भएको इतिहासलाई मेट्न इङ्गल्याण्डलाई कडा मिहेनत गर्न जरुरी छ । ११ वटा अन्तर्राष्ट्रिय स्पर्धामा इङ्गल्याण्डले इटालीबिरुद्ध मात्रै २ खेलमा जित हात पार्न सकेको छ । यूरो २००२ मा पेनाल्टी शुटआउटसहित इटालीले ६ खेलमा इङ्गल्याण्डलाई हराएको छ । तर, स्वीट्जरल्याण्डमा सन् २०१२ को अगष्टमा भएको मैत्रीपूर्ण खेलमा भने रोय हड्सनको टोली इङ्गल्याण्डले २–१ को नतिजा निकालेको थियो । रुनी आज इङ्गलिस टोलीका मुख्य हतियार हुनेछन् । इङ्गल्याण्डका सर्वकालिन खेलाडी पउल ग्यासक्विनसँग दाँजिने रुनीको तीव्र गति र बललाई पकडमा राख्नसक्ने कला जुनकुनै डिफेण्डरका लागि टाउको दुखाई हुनसक्छ । २८ बर्षिय रुनीले ९२ क्याप जित्दा ३९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।  
१८ औं पटक विश्वककप खेल्न लागेको इटालीसँग विश्वकपका पछिल्ला १४ खेलमा गोल स्कोर गरेको इतिहास छ । उनीहरुले सन् १९९८ को विश्वकपमा क्वाटरफाइनलमा फ्रान्सबिरुद्ध भने कुनै गोल गर्न सकेनन् । पेनाल्टी एरियाभन्दा बाहिरबाट समेत गोल गर्ने क्षमता भएको इटालीले सो क्षेत्रबाट १४ गोल गरिसकेको छ । जुन सन् १९६६ को विश्वकप पछिकै सर्वाधिक हो । इटालीको टीममा जियनालुइजी बुफोन, मारियो बालोटेली, आनद्र पिर्लो, ड्यानियल डी रोसी जस्ता चर्चित खेलाडीले भरिएको इटाली र इङ्गल्याण्डबीचको खेल विश्वकपको फाइनलभन्दा कम रोमाञ्चक हुनेछैन । युरो २०१२ मा इटालीका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका बालोटेली मैदानभित्र जति आक्रामक छन् त्यति नै सन्काहा पनि तर संयमित भएर खेले उनी जुनसुकै ठाउँबाट पनि गोल छिराउन माहिर मानिन्छन् । ३० क्याप जितेका २३ बर्षिय यी स्ट्राइकरले १२ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

Comments

Popular Posts