एन्फा अध्यक्ष थापाको एक पछि अर्को आर्थिक काण्ड
एकपछि अर्को आर्थिक काण्डमा मुछिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापामाथि संकट गहिरिदै गएको छ।
दुई सातामा थापा अर्को आर्थिक काण्ड सार्वजनिक भएको छ। उनी माथि कतार फुटबल संघले नेपालको लिग सञ्चालनको सहयोगका लागि दिएको सहयोग रकम हिनामिनाको आरोप थपिको छ। दुई बर्षअघि थापाले ४ बर्षका लागि कतारको फुटबल संघले २ लाख डलर दिने सार्वजनिक गरेका थिए। तर उनले पठाएको इमेल अनुसार २ लाख डलर ४ बर्षको नभइ हरेक बर्ष २ लाख डलर दिने सहमति भएको उल्लेख गरिएको छ। त्यहि इमेललाई आधार मान्ने हो भने कतार फुटबलले नेपाललाई ४ बर्षको ८ लाख डलर (झन्डै ७ करोड ६० लाख रुपैया) दिने सहमति भएको थियो। एन्फाले अहिले सम्म कति रकम लिएको स्पष्ट नपारे पनि ८ लाख डलर पाउने सहमति भएकोमा सरासर ढाटेको छ।
बेलायतबाट प्रकाशित हुने द सन्डे टाइम्सका समाचार अनुसार थापाले कतार फुटबल संघका अध्यक्ष शेख हामद विन खालिफा विन अल थानीसँग लिगका लागि ८ लाख डलरको सहमति गरेका थिए। ४ बर्षका लागि दिने सहमति भएको उक्त रकम कतार फुटबल संघले उपलब्ध गराउने उल्लेख भएको समाचारमा जनाइएको छ। सोही सहमतिलाई आधारमा मानेर थापाले एसियाली फुटबल महासंघ (एएफसी) का निलम्बित पूर्व अध्यक्ष मोहम्मद विन हमामका सहसायक नजिव चिराकललाई २ लाख डलर निकासा गर्न इमेल पठाएका थिए। त्यो इमेल हाल सार्वजनिक भएको छ। त्यसपछि थप रकम लिए नलिएका बारेमा भने समाचारमा केही उल्लेख छैन।
अघिल्लो सातामा मात्र सन्डे टाइम्सले थापाले हमामको कम्पनीबाट पटक पटक गरि १ लाख १५ हजार पाउन्ड (झन्डै १ करोड ८५ लाख रुपैयाँ) लिएको समाचार सार्वजनिक गरेको थियो। कतारलाई सन् २०२२ को विश्वकप आयोजनाको अवसर दिने सन्दर्भमा थापाले उक्त रकम लिएको समाचारमा दाबी गरिएको छ।
पछिल्लो दुई बर्षयता ठुलो आर्थिक काण्डमा थापा मुछिएको यो तेस्रो पटक हो। दुई बर्षअघि हमामबाट थापाका छोरा गौरवले पटक पटक गरि हमाम १ लाख डलर दिएको समाचार सार्वजनिक भएको थियो। त्यो समाचार सार्वजनिक भएपछि पाँच बर्षदेखि एएएफसीमा कार्यरत गौरव जागिर छाडेर गत बर्ष स्वदेश फर्केका थिए।
थापाले पछिल्ला घटनाक्रमका बारेमा प्रष्ट पार्न भन्दै आज (सोमबार) दिउँसो पत्रकार सम्मेलन गदैछन्। एन्फाकै केही पदाधिकारी र सदस्यले केही महिनायताबाट थापाको कार्यशैलीको विरोध गर्दै आएका थिए भने अहिले आर्थिक काण्डले उनीहरुलाई विरोध गर्ने थप बल मिलेको छ।
पछिल्लो समय देशकै फुटबलकै बदनाम हुने गरि आर्थिक काण्ड सार्वजनिक भएपछि एन्फा उपाध्यक्षद्धय कर्मा छिरिड शेर्पा र विजयनारायण मानन्धरको अगुवाइमा थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। उनीहरुले थापालाई तत्काल निलम्बन गरि एन्फामा भएका सबै खाले आर्थिक गतिविधिको छानविनको माग गरेका छन्। श्रोतका अनुसार अख्तियारले छिट्टै थापामाथि अनुसन्धान थाल्ने भएको छ।
Comments
Post a Comment