चार वर्षअघि खलनायक बने नायक
दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० को विश्वकपको क्वाटर फाइनलमा नेदरल्याण्ड्ससँग २–१ ले हार्दै घर फर्किने बेला ब्राजिलका गोलकिपर जुलिय सिजर खलनायक सावित भएका थिए ।
उनकै कमजोरीका कारण ब्राजिलले पहिलो अग्रता लिएको खेल २–१ ले हारेको थियो । उनी पोष्ट छाडेर अघि बढेका कारण ब्राजिलले गोल खाएको थियो । उनै सिजर चार वर्षअघि लागेको खलनायकको दाग मेटाउन अहिले सफल भएका छन् ।
जारी विश्वकप फुटबलमा चिलीलाई हराउँदै ब्राजिललाई क्वाटर फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका सिजरले टाइब्रेकरमा चिलीका २ वटा पेनाल्टीलाई बचाएका थिए । शनिबार राती भएको खेलमा उनले चिलीका २ जना खेलाडीको पेनाल्टी बचाएपछि ब्राजिल टाइब्रेकरमा चिलीलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा पुगेको छ ।
यो खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सिजरले आफूले पुन देशको विश्वास जितेको प्रतिक्रिया दिए । समर्थकको प्रेरणबाटै आफूले चिलीविरुद्ध राम्रो गर्न सकेको भन्दै उनले भने ‘चार वर्षअघिको विश्वकपमा लागेको खलनायकको दाग मेरो लागि निक्कै गाह्रो थियो ।’ तर अहिलेको प्रदर्शन २०१० पछिको विशेष रहेको भन्दै उनले यो जित आफ्ना आमा बाबु र सम्पूर्ण ब्राजिलियन नगारिलाई समर्पित गरेको बताए । चार वर्षको कडा परिश्रमले यो प्रदर्शन संभव भएको सिजरले बताए । ‘२०१० मा जे भएको थियो, त्यसपछि पनि अहिले मानिसहरुले मलाई समर्थन गरिरहेका मैंले देखें’ उनले भने ‘त्यसले मेरो हौसला बढ्यो र मैंले राम्रो गर्न सकें ।’
अब आफूले विश्वकप ट्रफि उचालेर ब्राजिलियन नागरिकसँग खुसी मनाउन चाहेको सिजरले बताए । इंग्लिस क्लव क्वीन्स पार्क रेञ्जर्सबाट गएको सिजनमा अमेरिकी क्लव टोरन्टोमा सरेका सिजर चिलीविरुद्धको जितपछि निक्कै भावुक देखिएका थिए ।
खेलको म्यान अफ द म्याचको ट्रफि लिने बेलामा समेत उनका आँखा खुसीले रसाइरहेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटबाट हुने भएपछि सिजरले टिमको हौसला बढाउन दिएको बचन सम्झँदै उनका साथी थियगो सिल्भाले भने ‘उसले भनेको थियो, तिमीहरु ढुक्कले हान, उनीहरुको प्रहार म बचाउँछु ।’ सिल्भाले चिलीको खेलको प्रसंसा गर्दै उसलाई महान् टिम भने ।
ब्राजिलियन प्रशिक्षक लुईस फिलिप स्कोलारीले चिलीविरुद्धको खेललाई युद्धको संज्ञा दिँदै यो खेल निक्कै भावुक रहेको बताए । उनले अब ब्राजिललाई लक्ष्यमा पुग्न तीनवटा जितको आवश्यकता रहेको पनि बताए ।
Comments
Post a Comment