कोलम्बिया समूह विजेता, जापान बाहिरियो

समूह सी को अन्तिम खेलमा जापानलाई ४-१ गोल अन्तरले हराएको कोलम्बिया समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । हारसँगै जापान विश्वकपबाट बाहिरिएको छ । कोलम्बियाले समूह डी उपविजेता उरुग्वेसँग अर्को चरणमा प्रतिस्पर्धा गर्नेछ । समूह सी कै अर्काे खेलमा ग्रीसले अाइभरीकाेस्टलार्इ २-१ ले स्तब्ध पार्दै अन्तिम १६ मा अाफ्नाे स्थान सुरक्षित गरकाे छ । 
प्रतियोगितामा अर्को चरण पुग्नको लागि जापानले आजको खेलमा जित हात पार्नुपर्ने थियो तर पहिलो हाफमा पाएको पेनाल्टीबाट कोलम्बियाले खेल आफ्नो पक्षमा पार्‍यो । जापानका यासुयुकी कोन्नोले रामोसलाई फल गरेर लडाएपछि रेफ्रीले कोलम्बियालाई पेनाल्टी दिएको थियो । त्यसमा जुआन गुलेर्मो क्वाड्राडोले प्रहार गरेको बल सहजै गोलमा परिणत भयो र कोलम्बियाले खेलको १७ औं मिनेटमै १-० को अग्रता लियो ।
ज्याक्सेन मार्टिनेजले ५५ औं मिनेटमा दोस्रो गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर पारे । जेम्स रोड्रिग्वेजले मिलाइदिएको पासमा मार्टिनेजले सेन्टर बक्सबाट दायाँ कर्नरमा गरेको कडा प्रहार जापानी गोलकिपर कावासिमाले रोक्नै पाएनन् । फेरि रोड्रिग्वेजले मिलाइदिएको मासमा मार्टिनेजले ८२ औं मिनेटमा गोल गर्दै कोलम्बियाको अग्रता तेब्बर बनाए । खेलको ९० औं मिनेटमा कोलम्बियाको लागि जेम्स रोड्रिग्वेजले गोल गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी टाइममा जापानको लागि सिन्जी ओकाजाकीले गोल गरेको भएपनि जापान दोस्रो हाफमा खेलमा फर्किन सकेन । ओकाजाकीले केइसुके होन्डाको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

Comments

Popular Posts