चिलीलाई हराउँदै ब्राजिल क्वाटरमा

गोलरक्षक जुलियो सेजार नायक बनेपछि आयोजक ब्राजिलले चिलीलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा अल्झिएपछि अतिरिक्त समयमा पनि कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ इन्टर मिलान र क्विन्स पार्क रेन्जर्सका पूर्वगोलरक्षक सेजारले दुई पेनाल्टी रोकेका थिए । सेजारले माउरिसियो पिलिना र एलेक्सी सान्चेजको पेनाल्टी रोके ।
डेविड लुइजले पहिलो पेनाल्टी गोलमा परिणत गरे पनि ब्राजिलबाट विलियनले गरेको दोस्रो प्रहार बाहिरिएको थियो । मार्सेलोले तेस्रो प्रहार निशाना लगाउँदै ब्राजिललाई २–० को अग्रता दिलाए । चिलीका लुइस अरानगुइजले गोल गर्दै २–१ को स्थितिमा ल्याए । हल्कको पेनाल्टी ब्राभोले रोकेपछि मार्सेलो डिएजले ४ पेनाल्टी प्रहारमा चिलीलाई २–२ को स्थितिमा ल्याए ।
स्टार स्ट्राइकर नेइमारले पाँचौ पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राजिल दाबेदार बनेको थियो । चिलीको गोन्जालो जाराले पाँचौं पेनाल्टी पोस्टमा हानेपछि ब्राजिलले प्रतियोगिताको सुरुआतबाटै बाहिरिने खतरालाई टारेको हो । ब्राजिलले अव कोलम्बिया र उरुग्वेको विजेतासँग क्वार्टरफाइनलमा खेल्ने छ ।
यसअघि चेल्सीबाट पेरिस सेन्ट जेर्मेन लागेका रक्षक लुइसको गोलमा ब्राजिलले निर्धारित समयको खेलमा अग्रता लिएको थियो । नेयमारको कर्नरमा कप्तान टिएगो सिल्भाले गरेको फ्लिक हेडमा लुइजले १८औं मिनेटमा नजिकको दुरीबाट गोल गरेका थिए । बार्सिलोनाका फरवार्ड सान्चेजले ३२औं मिनेटमा चिलीलाई बराबरीमा ल्याए । ब्राजिली रक्षकहरुको गल्तीमा इडुवार्डो भार्गासले मिलाइदिएको पासमा सान्चेजले गोल गरेका थिए ।
दोस्रो हाफमा हल्कले गोल गरे पनि विवादस्पद निर्णयका कारण त्यसले मान्यता पाएन् । मार्सेलोको क्रसमा हल्कले गोल गरे पनि सहायक रेफ्री मिसेल मुलार्कीले ब्राजिली खेलाडीले हातले बल रोकेको भनी त्यसलाई अमान्य गरिदिए ।
शनिबारको खेलअघि ब्राजिलले चिलीसँग खेलेको ६८ खेलमध्ये ८ मात्र हारेको थियो । अघिल्ला तीन विश्वकपमा पनि चिली पराजित भएकाले ब्राजिललाई खेलको स्वभाविक दाबेदार मानिएको छ । पछिल्ला ३ खेलमा मात्र ब्राजिलले चिलीविरुद्ध ११ गोल हानेको छ । २०१० को विश्वकपमा एउटै समूहमा पर्दा ब्राजिलले चिलीलाई ३–० ले हराएको थियो । तर इस्टाडे मिनेरिओमा ब्राजिलले विगतजस्तो प्रदर्शन दोह¥याउन सकेन् ।
समूह चरणमा साविक विजेता स्पेनलाई २–० ले पराजित गरेर आच्छु आच्छु पारेको चिलीले अर्को साहसिक प्रदर्शन गरे पनि पेनाल्टी शुटआउटमा टोली भाग्यमानी हुन सकेन् ।

Comments

Popular Posts