एन्फा अध्यक्ष थापामाथि छानबिन हुने

ब्रिटेनको एउटा अखबारले थापाले कतारी फुटबल अधिकारी मोहमद विन हमामबाट झन्डै डेढ करोड रकम लिएको समाचार प्रकाशित गरेको थियो।
त्यसबारे समाचार सार्वजनिक भएपछि चासो व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पत्र पठाएको खेलकुद मन्त्री पुरुषोतम पौडेलले बीबीसीलाई बताए।

काण्ड

दुई वर्षयता एन्फा अध्यक्ष गणेश थापा आर्थिक काण्डमा मुछिएको यो तेस्रो पटक हो ।
यसपटक ब्रिटेनको पत्रिका सन्डे टाइम्सले अध्यक्ष थापाले एसियाली फुटबल महासंघ एएफसीका तत्कालिन अध्यक्ष हमामबाट १ लाख १५ हजार पाउन्ड अर्थात झन्डै डेढ करोड रुपिया प्राप्त गरेको खुलाएको छ।
पत्रिकाले जनाए अनुसार चारवर्ष अगाडि लिइएको त्यो रकम सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारलाई बनाउन मत हाल्न बाँडिएको थियो।
सो मतदानपछि कतारले विश्वकप आयोजनाको अधिकार जितेको थियो।
एन्फाका अन्य पदाधिकारीहरुले आर्थिक र विदेश मामिलामा एन्फामा छलफल नहुने गरेको बताउँछन्।
एन्फाका एक उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “विदेशको बारेमा पैसाको बारेमा एन्फामा कहिल्यै पनि छलफल भएको छैन्, पछिल्लो आरोपबारे हामीलाई केही पनि जानकारी छैन्।”
दुई वर्ष अगाडि फिफाका पूर्व उपाध्यक्ष रहेका हमामको खाताबाट थापाका छोरा गौरवको खातामा एक लाख अमेरिकी डलर अर्थात झन्डै एक करोड रुपियाँ राखिएको खवर सार्वजनिक भएपछि अध्यक्ष थापा पहिलो पटक ठूलो आर्थिक काण्डमा मुछिएका थिए।
त्यतिबेला गौरव थापा एएफसीका कर्मचारी थिए।
तर त्यो रकम ब्यक्तिगत प्रयोगको लागि लिइएको अध्यक्ष थापाले स्पष्ट पारेका थिए।

अनुसन्धान

त्यो विषयमा कुनै पनि सरकारी निकायले अनुसन्धान गरेको थिएन।
तर यसपटक भने अनुसन्धान आवश्यक भएको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल बताउँछन्।
उनले उक्त विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई पत्र पठाएको बताए।
उनले भने, “फुटबलको अध्यक्षबाहिर हुनुहुन्छ, उहाँ आएपछि तुरुन्तै मन्त्रालयले यसबारे जानकारी लिन्छ, क्रिकेट एशोसिएयसनलाई त डुबाइसक्यो अब फुटबललाई पनि डुबाउने खतरा देखिएकोले हामी चिन्तित छौँ।”
थापा अहिले बिश्वकप हेर्न ब्राजिलमा पुगेका छन् र त्यहाँ उनले फिफा कंग्रेसमा भाग लिनेछन् ।
गत वर्ष टिकटको आम्दानी भन्दै एन्फाको खातामा अचानक ८ करोड रुपियाँ राखेपछि पनि उनी विवादमा परेका थिए।

हाम्रा खेल सम्वाददाता भन्छन्, एसियाली फुटबल महासंघका उपाध्यक्ष समेत रहेका अध्यक्ष थापाको आर्थिक अपारदर्शिताको समाचार बारम्वार आउनुले आफ्ना समयका चर्चित खेलाडी थापाको छवि धमिलिदैँ गएको देखिन्छ।

Comments

Popular Posts