मलेसियामा हरिलाई दोश्रो स्वर्ण
हरिकुमार रिमालले ९१ औं मलेसियन खुला एथलेटिक्स च्याम्पियनसिपको तेश्रो दिन थप एक स्वर्ण जितेका छन् ।
मलेसियाको काङ्गर पर्लिसमा भएको पुरुष १० हजार मिटर दौड ३२ मिनेट ३९.७२ सेकेन्डमा पूरा गर्दै हरिले व्यक्तिगत दोश्रो स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक सुशीलनरसिंह राणाले जनाएका छन् ।
यसअघि हरिले ५ हजार मिटर दौडमा पनि स्वर्ण जितेका थिए । तेश्रो दिन गोपीचन्द्र पार्कीले १ हजार ५ सय मिटर दौडमा रजत जिते । उनले निर्धारित दूरी पूरा गर्न ३ मिनेट ५७.९७ सेकेन्ड समय लगाए ।
योसहित प्रतियोगितामा नेपालको पदक संख्या ३ स्वर्ण, ३ रजत र २ कांस्य भएको छ । कान्छीमाया कोजुले महिलाको १० हजार मिटर दौडमा स्वर्ण तथा ५ हजार मिटर दौडमा रजत जितेकी थिइन् । थप एक रजत पुरुषको ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले हात पारेका थिए । महिलाको ट्रिपलजम्पमा केशरी चौधरी र पुरुषको ८ सय मिटर दौडमा मुक्तिबहादुर खड्काले कांस्य प्राप्त गरेका थिए ।
Comments
Post a Comment