पुबुदु आएनन् भने खेल्दिनँ - पारस

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता नलम्बाउने मनासय देखाएपछि कप्तान पारस खड्काले आफूहरु खेलिरहनुको तुक नभएको बताएका छन्।
श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक दासानायकेको नेपालसँगको करार सम्झौता सोमबार सकिएको छ। पछिल्लो पल्ट क्यानले उनलाई ३ महिनामात्रको सम्झौता नवीकरण गरेको थियो।
क्यानले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) र एसियाली क्रिकेट परिषद (एसिसी) बाट रोकिएको रकम नआएकाले संघको आर्थिक अवस्था कमजोर भएकाले प्रशिक्षक राख्न नसक्ने जनाएको थियो। अन्तर्राष्ट्रिय समूदायबाट रकम निकासा भएमा मात्र प्रशिक्षकको बारेमा बैठकबाट निर्णय गरिने क्यानले जनाएको छ।
पारसले यो सवै क्यानको बहानाबाजी भएको बताए। ‘भएको राम्रो मान्छेलाई राख्न नसक्ने क्यानले अरुलाई के नै गर्छ र,' पारसले नागरिकसँग प्रश्न गरे, ‘सधैं यस्तो कुरामा खेलाडीहरु कति दिन लड्ने । दासानायके प्रशिक्षक भएर आउँदैनन भने म पनि खेल्न छाडिदिन्छु।'
दासानायके २०११ को अक्टोबरमा नेपाल आएका थिए। दासानायकेले प्रशिक्षण सम्हालेयता नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ र ३ को उपाधिसँगै एसिसी ट्रफीमा युएईसँगैं संयुक्त विजेता बन्यो। विश्व ट्वान्टी–२० मा पुग्दै हङकङ र अफगानिस्तालाई पराजित गर्‍यो।
ट्वान्टी–२० विश्वकप खेलेको आधारमा आइसिसीले शनिबार नेपाललाई ट्वान्टी–२० अन्तर्राष्ट्रियको मान्यता दिएको थियो। दासानायकेले नै गर्दा नेपाल यो स्थितिमा आइपुगेको बताउने पारसले यस्तो अवस्थामा प्रशिक्षक नहुँदा खिन्नता पोखेका थिए। प्रशिक्षकलाई मासिक ८ हजार तलब दिने स्थितिमा संघ नरहेको र अन्य पक्ष जोडेर क्यानले दासानायकेलाई क्यानाडा फर्काएको थियो।
हाइपर्फोमेन्सबाट पाउने २ लाख ५० हजार डलर, आर्इसीसीबाट पाउने दुई क्वार्टरको डेढ लाख र एसीसीबाट २५ हजार डलर जति रकम क्यानलाई अन्तर्राष्ट्रिय जगतले निकाशा गरेको छैन्। प्रमुख कार्यकारी अधिकृत, वित्त व्यवस्थापक नियुक्त नगर्दा आर्इसीसी र एसीसीले रकम रोकेको हुन सक्ने क्यानको भनाइ छ। यी दुई कर्मचारी नियुक्त नगर्दा आर्इसीसीले नेपाललाई शनिबार अस्ट्रेलियामा सम्पन्न आर्इसीसी बैठकमा चेतावनी पत्र पनि दिइसेकेको छ। क्यानले अहिले दुवैका लागि अन्तिम सूची निकाल्ने तयारी गरेको छ।

Comments

Popular Posts