थापालाई कारबाही गर्नुपर्ने माग

एएफसीका निलम्वित अध्यक्ष माेहमद विन हमामबाट एक लाख १५ हजार पाउण्ड अनियमित रूपमा लिएकाे अाराेप लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा विरूध्द एन्फाका दुई उपाध्यक्षसहित पाँच फुटबलकर्मीले आर्थिक अपारदर्शिता तथा बेथितिको आरोपसहित अध्यक्ष थापालाई निलम्बन गरी छानबिनको माग गरेका छन्।
उपाध्यक्षद्वय कर्माछिरिङ शेर्पा र विजयनारायण मानन्धर, केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, राष्ट्रिय टोलीका पूर्वखेलाडी एवं प्रशिक्षक अर्जुन लामा र एन्फाका पूर्वकेन्द्रिय सदस्य दीपक खातीले सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष छानबिनको माग गरेका हुन्। 
थापाले एकपक्षीय रूपमा एन्फा चलाएको आरोपसहित पछिल्लो केही समययता आन्दोलित शेर्पालगायतले १८ बूँदे कारण उल्लेख गर्दै यस्तो माग राखेका हुन्। थापामाथि दुई वर्षअघि १ लाख डलर लिएको, एन्फाको पैसा आफूखुसी राखेको, विधानविपरीत संघ चलाएको, खेलाडी कल्याण कोषको सही प्रयोग नगरेकोलगायतका आरोप पनि लगाइएको छ।

Comments