मेरो समर्थन नाइजेरियालाई : प्रियंका
आफ्नो मनपर्ने टिम स्पेन विश्वकप फुटबलको पहिलोचरणबाटै बाहिरिएकोमा नरमाइलो मानिरहेकी अभिनेत्री प्रियंका कार्की आजको खेलमा नाइजेरियाको समर्थनमा छिन्।
'यसपटक विश्वकपमा नसोचेको टिमले राम्रो प्रदर्शनी गरिरहेको छ। नाइजेरिया विश्वकपको लागि नयाँ भए पनि अगाडिसम्म पुग्नुपर्छ भन्ने मेरो मान्यता हो,' बुबाआमासँगै बसेर खेल हेर्न योजनामा रहेकी उनले भनिन्, 'राम्रा भनिएका टिमहरू बाहिरिएको र जर्मनीको विरोधी भएकाले नाइजेरियाले जित्नुपर्छ भन्ने लागेको हो।'
रमाइलोका लागि खेल हेर्ने हुँदा बाजी कहिल्यै नराख्ने गरेको उनले बताइन्। २००२ देखि विश्वकप हेर्न थालेको र २०१० को विश्वकपका अधिकांश खेल हेरेको उनी बताउँछिन्।
'कालो पोथी' फिल्ममा व्यस्त निर्देशक मीन भाम यसपटकको विश्वकप जर्मनीले जितेको हेर्न चाहन्छन्। सन् २००२ देखि विश्वकपबारे रुचि राख्न सुरु थालेको बताउने उनले आजको खेलमा फ्रान्सको समर्थन गर्ने बताए।
'खेलाडीहरूको खेल्न शैलीबाट प्रभावित हुने हुँदा सुरुमा ब्राजिलको खेल मनपर्थ्यो। यसपटक जर्मनीका खेलाडीहरूको खेल्ने शैली राम्रो छ,' उनले भने। राति अबेरसम्म अफिसमा फिल्म निर्माणका सदस्यहरूसँग काम र छलफल भएकाले खेल बालुवाटारमा हेर्ने उनी बताउँछन्। 'टिभीमा हेर्न नपाए पनि नेट र साथीहरूको फोनबाट म्याचबारे जानकारी लिइरहेको हुन्छु,' उनले भने।
त्यस्तै संगीतकार कल्याण सिंह पनि आजको खेलमा फ्रान्सको समर्थनमा छन्। 'फ्रान्सका करिम बेन्जिमको खेल्ने स्टाइलको फ्यान भएकाले आजको म्याच घरमा राजु दाइ र बुबासँग बसेर हेरिन्छ,' विश्वकप हेर्न थालेदेखि नै जर्मनीको समर्थक रहेको बताउने भने।
- स्मृति ढुंगाना
Comments
Post a Comment