चिलीको ट्रेनिङ ग्राउन्डमा ब्राजिली जासुसी हेलिकोप्टर

विश्वकप आयोजक ब्राजिलसँग इस्टेडियो मिनेरियोमा नकआउट चरणको म्याच खेल्ने तयारी गरिरहेको चिलीले ट्रेनिङ सत्रलाई रद्द गरेको छ। खेल रणनीति बनाउन तालिम भइरहेको मैदानको आकासमा बारम्बार हेलिकोप्टर उडेपछि चिलीका प्रशिक्षक जोर्ज स्याम्पोलीले तालिम रद्द गर्न निर्देशन दिएका हुन्।
'हेलिकोप्टरले पछ्‌याएको कारण प्रशिक्षक निकै चिन्तित भए', सञ्चार निर्देशक हेक्टर ओलेभले भने, 'किनभने उनी खेल रणनीति बनाउँदै थिए। टोलीको खेल नीति कसैले थाहा नपावस् भन्ने चाहना उनको थियो।'

चिलीका रक्षक माउरिसो इस्लाले सुनाए, 'हामीले बलले हेलिकोप्टरलाई प्रहार गर्न खोज्यौं तर सकेनौं।'

हेलिकोप्टर ब्राजिली टेलिभिजन च्यानल ओ ग्लोबोको भएको पुष्टि भएको छ। तालिम स्थलको भिडियो खिच्ने प्रयासप्रति चिलीको टोलीले कडा आपत्ति जनाएपछि टेलिभिजन च्यानलले क्षमायाचना गरेको छ। समूह ए को विजेता ब्राजिल र समूह बीको उपविजेता चिलीबीच नकआउट चरणको पहिलो खेल हुँदैछ।

Comments