अर्जेन्टिनाको आक्रमक प्रदर्शनको प्रतीक्षा


जारी विश्‍वकपमा केही बलिया टोलीले राम्रो सुरुआत गर्न सकेनन्। इङ्ल्यान्ड, उरुग्वे, स्पेन, पोर्चुगलजस्ता बलिया टोली पहिलो खेलमै पराजित भए। राम्रो प्रदर्शन गर्न नसके पनि अर्जेन्टिनाले भने प्रतियोगितामा सुखद सुरुआत गरेको थियो, यद्यपि पहिलो खेलमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी कमजोर थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको बोस्निया हर्जगोभिनालाई हराउन पनि दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई हम्मेहम्मे परेको थियो। उक्त खेलमा अर्जेन्टिना २-१ ले विजयी भएको थियो।
सोही कारणले उपाधिको प्रबल दाबेदार मानिएको अर्जेन्टिनाको प्रदर्शनको निकै आलोचना पनि भयो। अनुभवी र प्रभावशाली खेलाडीको कमी नरहेको अर्जेन्टिनाका खेलाडीले पहिलो खेलमा अपेक्षित प्रदर्शन गर्न सकेनन्। त्यसैले शनिबार राति अर्जेन्टिनाले इरानको सामना गर्दा एकातिर उसलाई जित हात पार्नुपर्ने दबाब छ भने अर्कोतिर प्रदर्शन सुधार्नुपर्ने चुनौती पनि छ।
समूह 'एफ' मा अर्जेन्टिना एक खेलबाट तीन अंक जोडेर शीर्ष स्थानमा छ। एकएक खेल खेलेका इरान र नाइजेरियाले एकएक अंक जोडेका छन्। खेलाडीबीच तालमेल नहुनु अर्जेन्टिनाको सबैभन्दा ठूलो समस्या हो। यसै कारण अर्जेन्टिनाले बोस्नियालाई हराउन ठूलै संघर्ष गर्नुपरेको थियो। यसबाहेक अर्जेन्टिनाको रक्षापंक्ति पनि आशा गरिएजस्तो सशक्त देखिएको छैन।
गोलरक्षक सर्जियो रोमेरोले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरे। स्टार खेलाडीद्वय सर्जियो एगुएरो र एन्जेल डी मारिया पनि लयमा नदेखिएकाले अर्जेन्टिनाको आक्रामक प्रदर्शन हेर्न बाँकी नै छ। अर्जेन्टिनाका प्रशिक्षक अलेक्जान्द्रो साबेला टोलीलाई ४-३-३ को रणनीतिमा उतार्ने योजनामा छन्। बोस्नियाविरुद्व सुरुमा ३-५-२ को खेलनीति अपनाए पनि अर्जेन्टिनाले प्रभाव देखाउन सकेन। त्यसैले इरानविरुद्व फर्नान्डो गागो र गोन्जालो हिग्वेन सुरुआती टोलीमा पर्ने सम्भावना छ।

Comments

Popular Posts