नेदरल्यान्ड्सकाे नाटकीय जीत

इन्जुरी समयमा क्लास यान हन्टुलरले पेनाल्टीमा गोल गरेपछि युरोपेली महारथी नेदरल्यान्ड्सले विश्वकपको सनसनीपूर्ण यात्रालाई क्वार्टर फाइनलसम्म लम्बाएको छ।
राफेल मार्कवेजले आर्येन रोबेनलाई लडाएवापत प्राप्त पेनाल्टीलाई हन्टुलरले थप गरिएको ६ मिनेटको चौथो मिनेटमा गोलमा परिणत गरेका थिए। यसअघि समय सकिन दुई मिनेट बाँकी रहँदा वेस्ले स्नाइडरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।
आर्येन रोबेनको कर्नरमा क्लास हन्टुलरले दिएको हेड पासलाई स्नाइडरले पेनाल्टी बक्सको छेउबाट दर्शनीय भलीमा बराबरी गोल गरेका थिए।
यसअघि ४८ औं मिनेटमा जियोभानी डस सान्तोषले मेक्सिकोका लागि गोल गरेपछि नेदरल्यान्ड्सको सनसनीपूर्ण यात्रामा पूर्णविराम लाग्ने संकेत मिलेको थियो।
साविक विजेता स्पेनसहित रहेको समूह बी का सबै तीन खेलमा आरामदायी विजय हासिल गर्दै अन्तिम १६ प्रवेश गरेको नेदरल्यान्ड्सविरुद्ध डस सान्तोषले पेनाल्टी बक्सबाहिर पाएको बललाई एक विपक्षी रक्षक कटाउँदै कडा सटमा गोल गरेर मेक्सिकोलाई अग्रता दिलाएका थिए।
मेक्सिकोले क्यामरुन र क्रोएसियालाई हराउनुका साथै आयोजक ब्राजिलसँग गोलरहित बराबरी खेल्दै नकआउट चरणको यात्रा तय गरेको थियो।
आइतबार फोर्टालेजाको स्टेडियो क्यास्टेलाओ रंगशालामा मेक्सिकोका मिगुअल लायुनले सुरुआतमै गोलका केही मौका खेर फालेका थिए। तेस्रो र पाँचौं मिनेटमा लायुनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रयास असफल भएको थियो।
तेस्रो मिनेटमै डच कप्तान रोविन भान पर्सीको प्रहारले विपक्षी रक्षापंक्तिका सबै खेलाडीलाई पार गरे पनि बलले गोलको दिशा लिएन। नवौं मिनेटमै निगेल डी योङ घाइते भएर बाहिरिनु नेदरल्यान्ड्सका लागि अर्को दूर्भाग्यपूर्ण घटना थियो। उनलाई ब्रुनो मार्टिन्सले स्थानान्तरण गरे। २७ औं मिनेटमा भान पर्सीको प्रहार बाहिरियो।
मेक्सिकोका गोलकर्ता डस सान्तोषले २९ मिनेटमै गोलको मौका पाएका थिए। तर उनको प्रहार गोलकिपर जेस्पर चिलेसेनले बचाएर नेदरल्यान्ड्सको अगाडि बढने आशा जीवित राखेका थिए। चिलेसेन ४८ औं मिनेटमा भने डस सान्तोषलाई रोक्न सफल भएनन्। दक्षिण अमेरिकी टोलीहरु हावी भइरहेको ब्राजिल विश्वकपमा डस सान्तोषले पेनाल्टी बक्स बाहिरबाट विजयी गोल गरेर युरोपेली टोलीको अर्को असफलताको कथा रच्न खोजेका थिए।
खेलमा नेदरल्यान्डसलाइ ५८ हजार ८ सय १७ दर्शकका बीच मेक्सिकोले पूरा दबावमा राखेको थियो। ५१ औं मिनेटमा राफेल मार्कवेजको हेड बाहिरिँदा मेक्सिको गोलअन्तर बढाउने मौकाबाट चुकेको थियो। बल पोसेसनमा ५५–४५ ले पछि परे पनि मेक्सिकोले विपक्षी पेष्टमा नेदरल्यान्ड्सभन्दा बढि प्रभावकारी आक्रमण गरेको थियो।
अन्तिमतिर भने नेदरल्यान्ड्सले प्रभावकारी पुनरागमन जनायो। ६५ औं मिनेटमा भान पर्सीको प्रहार विपक्षी गोलकिपर गुइलेर्मो ओचोवाले बचाए भने आर्येन रोवेनको अर्को एउटा राम्रो अवसरमा पनि उनै पर्खाल बने। समय सकिन १६ मिनेट बाँकी रहँदा रोवेनले दुई रक्षक कटाएर वान भर्सेज वानमा प्रहार गरेको बल बचाएर ओचोवाले मेक्सिकोको विजयआधार भत्कन दिएनन्। तर अन्तिममा दुई उत्कृष्ट गोल गर्दै नेदरल्यान्ड्सले ग्रिस र कोस्टारिकामध्ये एकसँगको क्वार्टर फाइनल भिडन्त पक्का गर्‍यो।

Comments