बंगलादेशमा विश्वकप खेल्ने देशका झण्डा फहराउन नपाइने

बंगलादेशी प्रशासनले देशको पश्चिमी क्षेत्रका घरघरमा राखिएका विश्वकप खेल्ने देशका झण्डा निकाल्न आग्रह गरेको छ ।
अर्जेण्टिना र ब्राजिलका समर्थकले घरको छतमा आ–आफूले समर्थन गरेका देशका झण्डा राखेपछि पश्चिमी बंगलादेशमा स्थानीय प्रशासनले झण्डा हटाउन आग्रह गरेको हो ।
विश्वकप सुरु हुनै लाग्दा अर्जेण्टिना र ब्राजिलका झण्डाले शहर झकिझकाउ भएपछि बंगलादेशको राष्ट्रिय झण्डाकै अनादर भएको भन्दै झण्डा हटाउन भनिएको पश्चिमी जेस्सोरे जिल्लाका सरकारी अधिकारी मुस्ताफिजुर रहमानले जानकारी दिनुभयो ।
पश्चिमी बंगलादेशका हरेकजसो घरमा अर्जेण्टिना वा ब्राजिलको झण्डा देखिएको रहमानले जानकारी दिनुभयो । सरकारी अधिकारीले दुर्गम गाउँगाउँ गएर र शहरमा सार्वजनिक सूचना जारी गरेर झण्डा हटाउन आग्रह गरेका छन् । उनले आफूले समर्थन गरेका टिमको जर्सी लगाउन भने समर्थकलाई नरोकिएको बताए ।
एक दिवसीय क्रिकेटको विश्वकप खेलिसकेको बंगलादेशमा क्रिकेटसँगै फुटबल पनि लोकप्रिय छ । बंगलादेशले सन् २०११ मा अर्जेन्टिना र नाइजेरियबीचको मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो । मेसी समेत उपस्थित भएको त्यो खेलमा लागि बंगालदेशले ४० लाख अमेरिकी डलर खर्च गरेको थियो ।
बंगलादेशी नागरिकले सन् १९८२ देखि विश्वकपलाई टेलिभिजनमा प्रत्यक्ष हेर्दै आएका छन् । सन् २०१० को विश्वकपको  बेलामा लोडसेडिङ गरेको भन्दै फुटबल समर्थकले प्रदर्शनसमेत गरेका थिए ।

Comments

Popular Posts