पृथुको सहयोगकाे लागि क्रिकेट प्रतियोगिता
नेपाली क्रिकेटर पृथु बास्कोटाको सहयोर्थ अष्ट्रेलियाको सिड्नीमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । क्रिकेटर बास्कोटा केही सातादेखि उपचारका लागि अष्ट्रेलियाको सिड्नीमा छन् ।
नेप्लिज क्रिकेट एशोसिएसन अष्ट्रेलिया र प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरिएको उक्त ट्वान्टी- ट्वान्टी क्रिकेट प्रतियोगिता सिड्नीको लिड्कममा रहेको वायट् पार्कमा आयोजना गरिएको हो ।
प्रतियोगितामा क्रिकेटर बास्कोटा समेत दर्शकका रुपमा सहभागी बनेका थिए । प्रतियोगितामा नेप्लिज क्रिकेट एबोसिएसन अष्ट्रेलिया (एनसिसिए ११) र लुम्बिनी क्रिकेट क्लब सहभागी बनेका थिए ।
गतबर्ष न्युजिल्याण्डमा आयोजना गरिएको विश्वकप छनौट प्रतियोगिताको क्रममा घुँडामा चोट लागेका कारण उनी उपचारार्थ करिब २ महिनाअघि अष्ट्रेलिया आएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएका कारण उपचारका लागि उनी सिड्नीमा रहेको नेपियन अस्पतालमा आएका हुन् । अस्पतालमा घँडाको सर्जरी गराएर अहिले साताको दुईपटक फिजीयोथेरापी गराईरहेका बास्कोटाको उपचारमा यहाँका नेपालीहरुले सहयोग अभियान नै सञ्चालन गरेका छन् ।
बास्कोटालाई अष्ट्रेलियामा प्रवासी नेपाली मञ्चले खाने बस्ने व्यवस्था मिलाएको छ भने अन्य सहयोगीहरुले उनलाई आवश्यक सहयोग गरिरहेका छन् । उनको सहयोगका लागि वेबसाईट र फेसबुक मार्फत यहाँ रहेका नेपालीहरुले सहयोग जुटाइरहेका छन् । उनको उपचारमा करिब १६ लाख बढी रकम खर्च भएको छ भने उपचारका लागि नेपाल क्रिकेट एसोसिएसन क्यानले ५ हजार अष्ट्रेलियन डलर सहयोग गरेको छ ।
उपचार पश्चात स्वाथ्यलाभ गरिरहेका बास्कोटाले अष्ट्रेलियाका नेपालीहरुले देखाएको माया आफ्नो लागि अमुल्य रहेको प्रतिक्रिया दिए । उनले कान्तिपुरसँग कुराकानी गर्दै अहिले आफ्नो स्वास्थ्यमा धेरै सुधार आइसकेको तर साताको दुईपटक फिजीयोथेरापी गराइरहेको जानकारी दिए । उनले आउँदो डिसेम्बरसम्ममा आफू मैदानमा उत्रन सक्ने विश्वास व्यक्त गरे ।
'मैले चोटका कारण नै विश्वकप गुमाउनुपर्यो उनले कान्तिपुरसँग भने- तर अब स्वास्थ्यमा सुधार हुँदै आएकाले यस बर्षको अन्त्यसम्ममा म मैदानमा उत्रनेछु ।' अब एक महिना अझै फिजीयोथेरापी गर्नुपर्ने र बाँकी उपचार नेपालमा नै गएर गर्ने समेत उनले सुनाए ।
Comments
Post a Comment