बार्सिलोनाको शानदार पुनरागमन, ड्रोग्बाको टिम गलातासरे पनि अन्तिम ८ मा

बार्सिलोना युरोपियन च्याम्पियन लिगको अन्तिम आठमा पुग्न सफल भएको छ। अन्तिम १६ को पहिलो लिगमा एसी मिलनसंग २-० ले पछि परेको बार्सिलोनालाई अन्तिम ८ को यात्रा पक्का गर्नको लागि घरेलु मैदान न्युक्याम्पमा न्युनतम ३-० को जीत आवश्यक थियो। सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सीले मध्यान्तर अगाडि नै २ गोल गरेपछि बार्सिलोनाको अन्तिम ८ यात्रा सम्भव भएको थियो। मेस्सीले ५ औं र ४० औं मिनेटमा गोल गरेका थिए। डेभिड भिल्ला ले ५५ औं र जोर्डी अल्वाले दोस्रो हाफको अतिरिक्त समयमा गोल थपेपछि एसी मिलन विरुद्ध ४-० प्रभावशाली जीत आत्मसाथ गर्दै बार्सिलोनाले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। बहुप्रतिक्षित बार्सा-मिलान खेल हेर्न लगभग ९५ हजार दर्शक उपस्थित थिए।
मंगलबार राती नै सम्पन्न अर्को खेलमा जर्मन क्लब साल्केलाई ३-२ ले घरेलु मैदानमै पछि पर्दै टर्कीको गलातासरेले पनि अन्तिम ८ को यात्रा गर्यो। यो दुई टोलीले पहिलो लिग १-१ को बराबरी खेलेका थिए।
सुरुवाती अग्रता घरेलु टोलि साल्केले  १७ औं मिनेटमा  रोमन नेउस्तद्तेरको गोलबाट लिएको थियो। पहिलो हाफमै ५ मिनेटको अन्तरमा २ गोल गर्दै गलातासरे मध्यान्तर २-१ को अग्रता लिन सफल भएको थियो। पाहुना टोलीको लागि ३७ औं मिनेटमा हामित अल्तिनटोपले र ४२ औं मिनेटमा बुराक यिल्माज़ले गोल गरेका थिए। दोस्रो हाफको ६३ औं मिनेटमा माइकल फर्नान्डेज बस्टोसले साल्केको लागि गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको थियो। अतिरिक्त समयको ५ औं मिनेटमा उमुट बुलुटले गलातासरेको लागि गोल गरेपछि घरेलु टोलि स्तब्ध भएको थियो।

Comments

Popular Posts