नेपाल र प्यालेस्टाइनले गोलरहित बराबरी खेले, पहिलोचरणबाटै बाहिरियो नेपाल

नेपालले एएफसी च्यालेन्ज कप छनौट समूह डी को अन्तिम खेलमा शारीरिक रूपमा बलियो टोली प्यालेस्टाइन विरुद्ध गोलरहित बराबरी खेल्दै समूह चरणबाटै बाहिरिएको छ। बंगलादेश भने कमजोर प्रतिद्वन्द्वी नर्दन मरियाना आइल्याण्ड विरुद्ध ४-० को जीत निकाल्दै समूहको उपविजेता बन्न सफल भयो भने २ जीत १ बराबरी खेलेको प्यालेस्टाइन समूह विजेता बन्दै माल्दिभ्सको टिकट काट्यो।
प्यालेस्टाइनले सुरुवाती १५ मिनेट पुरै दबाबमा राखेको थियो। उसले राम्रा-राम्रा मूभ बनाए पनि गोल गर्न सकेन भने नेपालले सुरुवाती १५ मिनेटमा एउटा पनि अवसरको सिर्जना गर्न सकेन।
१६ औं मिनेटमा भरत खवासको पासमा जुमानु राई प्रहार थोरै माथिबाट बाहिरिएको थियो। २० औं मिनेटमा भरत खवासको २० यार्ड लामो प्रहर प्यालेस्टाइनका गोलरक्षक अबुहमदले कुशल बचाऊ गरे। ३८ औं मिनेटमा सागर थापाको डी-बक्स नजिकबाटको फ्री-किक गोलरक्षकले फर्काए, सोहि बललाई जगजीत श्रेष्ठले गरेको प्रहार पुन गोलरक्षक अबुहमदले पन्च गर्दै विफल पारिदिए। दोस्रो हाफको सुरुवातमा नै जगजीत श्रेष्ठको फ्री-किकमा जुमानुको सुन्दर हेड गोलरक्षकले कठिन बचाऊ गरे।
भरत खवास, जगजीत श्रेष्ठ, किरण चेम्जोङ्ग, जुमानु राई, रबिन श्रेष्ठ, रोहित चन्दले राम्रो खेले पनि अन्य खेलाडीहरुले खस्किएको खेल पस्कदा नेपाल समूह चरणबाटै बाहिरिनु पर्यो। त्यसो त प्रशिक्षकले राम्रो खेलिरहेका जुमानु राईको स्थानमा अमर डंगोल र जगजीत श्रेष्ठको स्थानमा अनिल गुरुङलाई मैदान प्रवेश गराउनु पनि गलत साबित भयो। अमर डंगोलले कुनै चमत्कार देखाउन सकेनन्, उनको प्रदर्शन बिर्सनलायक रह्यो। डंगोल र भोलानाथ सिलवालको स्थानमा मैदान छिरेका बिजय गुरुङ कुहिरोमा रुमलिएको काग जस्तै भएका थिए। राजु तामांग र सन्दीप राईको खेल पनि बिर्सनलायक थियो। उनीहरुको स्थानमा सम्भावना बोकेका विजय धिमाल,  राजेन्द्र रावल वा विक्रम लामालाई मौका दिएको भए राम्रो हुने थियो। नयाँ खेलाडीलाई मौका दिने भनी हल्ला मात्र गरेका प्रमूख प्रशिक्षक ज्याक स्टेफानोस्कीले प्रतियोगिताभर अमर डंगोललाई मात्र मौका दिए।
कप्तान सागर थापाको प्रदर्शन पनि राम्रो रहेन। सामान्य बल पनि क्लियर गर्न उनलाई हम्मे-हम्मे परेको थियो। बिराज महर्जन धेरै अत्तालिएको देखिन्थे, उनले एक खतरनाक आक्रमण भने विफल पार्न सफल रहे। बंगलादेश विरुद्धको खेल भने विराजकै खराब प्रदर्शनको कारण नेपालले हारेको थियो।
सागर थापा, राजु तामांगले अब नयाँ  खेलाडीहरुको लागि मार्ग प्रसस्त गर्नु देशको लागि हीत हुने उनीहरुको प्रदर्शनबाट देखिन्छ भने स्टाइकरहरु अनिल गुरुङ, सन्तोष साहुखला, अमर डंगोलको विकल्प वा उनीहरुले धेरै मेहनत गर्नु पर्ने देखिन्छ। नत्र राम्रो खेलेर पनि भरत खवास, जगजीत श्रेष्ठ, किरण चेम्जोङ्ग, जुमानु राई र रबिन श्रेष्ठहरु मैदान भित्रै रुनु पर्ने छ भने सम्पूर्ण नेपाली खेलप्रेमी निराश हुदै मैदान छाड्ने दिनको अन्त्य हुने देखिदैन।
एन्फाले प्यालेस्टाइन विरुद्ध राम्रो खेलेको भन्दै राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडीलाई जनही ५० हजार रुपैया पुरस्कारको घोषणा गरेको छ। 

Comments