मेसी फेरि वर्ष खेलाडी
के यो आश्चर्यजनक घोषणा हो ? सायद । अन्यथा लियोनल मेसी आफैं चकित पर्ने थिएनन् होला । अर्जेन्टिनी फरवार्डले मेसी सन् २०१० को फिफा बेलन डे'अर जितेका छन् । बार्सिलोनाका २३ वर्षीय खेलाडी मेसी गत वर्ष पनि उत्कृष्ट खेलाडी चुनिएका थिए र उनले यो उपलब्धि लगातार दोस्रो वर्ष आत्मसात् गरेका छन् ।'म वास्तवमै आश्चर्यचकित छु', मेसीको पहिलो प्रतिक्रिया थियो, तर उनले यति थप्न पनि बिर्सेनन्, 'यद्यपि म उत्तिकै खुसी भने छु ।' एवार्ड जित्ने होडमा मेसीसँगै आन्द्रेस इनिस्टा र ज्याभी गरेर तीन बार्सिलोना खेलाडी थिए । धेरैको अनुमान थियो, सायद इनिस्टाले जित्नेछन् अथवा ज्याभीले, किनभने सन् २०१० को विश्वकप स्पेनले जितेको थियो । इनिस्टा र ज्याभी दुवैले स्पेनलाई पहिलो पल्ट विश्वकप दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, उनीहरूको व्यक्तिगत प्रदर्शन पनि उत्तिकै दरिलो थियो । इनिस्टाकै गोलले विश्वकप फाइनलमा स्पेनले नेदरल्यान्डले अतिरिक्त समयको खेलमा १-० ले हराएको थियो । सायद यस्तो विचारसँग खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र कप्तानको फरक मत रह्यो । उनीहरूले गरेको मतदानमा मेसीले २२ दशमलव ६५, इनिस्टाले १७ दशमलव ३६ र ज्याभीले १६ दशमलव ४८ प्रतिशत मत प्राप्त गरे । मेसी लगातार दोस्रो वर्षपछि उत्कृष्ट चुनिने सन् १९८८/८९ यताका पहिलो खेलाडी समेत हुन् । मेसीलाई भलाद्मी खेलाडी मानिन्छ, उनले यो भलाद्मीपन एवार्ड कार्यक्रममा पनि देखाए । उनको भनाइ थियो, 'मलाई लागेको थियो, यो अवार्ड इनिस्टा अथवा ज्याभीले जित्नेछन् । उनीहरू त्यसका हकदार पनि थिए, किनभने स्पेनले विश्वकप जितेको थियो । मलाई मतदान गर्नेहरूलाई हार्दिक धन्यवाद ।'उत्कृष्ट प्रशिक्षकको एवार्ड विश्वकप विजेता स्पेनी टिमलाई पनि गएन् । इनिस्टा र ज्याभी जस्तै प्रशिक्षक भिन्सेन्ट डेल बक्स पनि निराश भए । उनको स्थानमा गत वर्ष इन्टर मिलानलाई अभूतपूर्व सफलता दिलाएका पोर्चुगाली प्रशिक्षक जोसे मोउरिन्हो भाग्यमानी रहे । अहिले उनी अर्को स्पेनी क्लब रियल म्याड्रिडमा छन् । उनको नेतृत्वमा इन्टरले घरेलु लिग सिरी 'ए', इटालियन कपसँगै युरोपेली च्याम्पियन्स लिग जितेको थियो । यो सिजनलाई मोउरिन्हो स्वंयले अपूर्व मानेका थिए । उनका लागि पछिल्लो सिजन वास्तवमै 'विशेष' थियो । उनले ३५ दशमलव ९२ प्रतिशत मत पाए, जबकी डेल बक्सको भागमा ३३ दशमलव ०८ प्रतिशत मत रह्यो । महिलातर्फ उत्कृष्ट खेलाडीको चयन शायद अपेक्षित थियो । ब्राजिलीयन खेलाडी मार्टाले ३८ दशमलव ०२ प्रतिशत मत पाइन् र उत्कृष्ट ठहरिइन् । हमिट एलटिनपले सर्वाधिक उत्कृष्ट गोलका लागि पुरस्कार एवार्ड जिते । टर्कीका लागि उनले युरोपेली च्याम्पियनसिपको छनोटमा काजाकिस्तानविरुद्ध भलिमा सुन्दर गोल गरेका थिए ।
Comments
Post a Comment