सहारा अन्तिम चारमा


पोखरा, माघ ९ - आयोजक सहारा क्लब पाहुना क्लब डेन्जोङ ब्वाइजको चुनौती सहजै पन्छाउँदै शनिबार नवौं आहा गोल्डकपको अन्तिम चारमा पुग्ने पहिलो टिम भएको छ ।
काठमाडौंका 'ए' डिभिजन क्लबमा आबद्ध खेलाडीको बाहुल्य रहेको सहाराले पहिलो क्वाटरफाइनलमा सिक्किमको डेन्जोङ ब्वाइजको पोखरा यात्रा पहिलो खेलमै २-० ले टुंग्याइदियो ।
निकै कमजोर प्रदर्शन गरेको भारतीय क्लबविरुद्ध सहाराले दुवै गोल पहिलो हाफमा गरेको थियो । उत्तम गुरुङले पहिलो गोल गरेको दस मिनेट नबित्दै सुवास गुरुङले सहाराको अग्रता दोब्बर पारेका थिए ।
उद्घाटनमा धरान फुटबल क्लबमाथि २-० जित रच्दै अन्तिम आठमा प्रवेश पाएको सहारालाई कुनै पनि समय डेन्जोङ ब्वाइजले कडा चुनौती पेस गर्न सकेन । पोखरेली मैदानमा डेन्जोङ ब्वाइजको पहिलो यात्रा एकै खेलमा टुंग्याएको आयोजक आहा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको पाँचौं अवसर हो ।
सेमिफाइनलमा भने सहाराले अभाग्यशाली टोलीको पहिचान बनाएको छ । वि.सं.२०५८ को क्याराभान कप र त्यसपछि आहा गोल्डकपका लगातार आठ संस्करणमा अहिलेसम्म उसले फाइनल यात्रा तय गर्न सकेको छैन । फाइनल प्रवेशमा उसको बाधक २०५८ मा पुलिस, ०६० र ०६१ मा लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी र ०६३ मा नबिल थ्री-स्टार रहेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको सहाराले २२ औं मिनेटमा गोलको खाता खोलेको थियो । पेनाल्टी एरियानजिक पाएको फ्रिकिकको सुनौलो अवसरमा उत्तमले प्रहार गरेको बलले सीधै जाली चुमेपछि सहारा अगाडि बढेको थियो । उन्नाइस यार्ड दूरीबाट लोभलाग्दो रूपमा उनले प्रहार गरेको बल डेन्जोङ ब्वाइजको मानवीय पर्खाल र गोलकिपर लासुनपाले रोक्ने मौका पाएनन् ।
बल अगाडि बढाइरहेका सहाराका अफ्रिकी मूलका स्ट्राइकर इजी रहिमलाई पेनाल्टी क्षेत्रमा डेन्जोङ ब्वाइजका अफ्रिकी खेलाडी सुमो फोरक्पाले लडाएपछि प्राप्त फ्रिकिक सदुपयोग गर्दै मिडफिल्डर उत्तमले गोलको खाता खोलेका थिए ।
अर्का मिडफिल्डर सुवासले गरेको सहाराको दोस्रो गोल पनि उत्कृष्ट रह्यो । खुम गुरुङले पेनाल्टी एरिया बाहिर मिलाइदिएको बललाई उनले दोस्रो बारमा च्याप्दै पोस्टको दिशा दिएर सहाराको जित निश्चित पारेका थिए । सुवास 'जी फाइभ म्यान अफ द म्याच' पनि चुनिए ।
एक गोलले पछि परेपछि सिक्किमे टिमको प्रदर्शन निराशाजनक रह्यो । मिडफिल्ड र अग्रपंक्तिमा तालमेल मिलाउन नसकेपछि उसले गोलको अवसर सिर्जना गर्न सकेन । उसका डिफेन्सको प्रदर्शन पनि बलियो रहेन । उसको डिफेन्स लाइन सहाराले पटक-पटक तोडेको थियो । सहाराले थप आधा दर्जन र डेन्जोङ ब्वाइजले उल्लेखयोग्य दुई आक्रमण गरेको थियो ।
सुधारिएको खेल प्रदर्शन गरेकाले सहज जित सम्भव भएको सहाराका प्रशिक्षक किरण श्रेष्ठले बताए । 'विपक्षी टिम नराम्रो थिएन,' उनले भने, 'तर उनीहरूले धेरै अवसर गुमाए । त्यसको फाइदा हामीलाई भयो ।' पहिलोपल्ट फाइनलमा स्थान सुरक्षित गर्ने धुनमा रहेको सहाराले सेमिफाइनलमा पूर्वविजेता मनाङ-मस्र्याङ्दी र आर्मीबीचको विजेतासँग खेल्नेछ । 'दुई नाइजेरियाली खेलाडी नेपाल ल्याउन नपाउँदा हाम्रो चुनौती कमजोर भयो,' डेन्जोङ ब्वाइजका प्रशिक्षक कर्मा भुटियाले बताए ।
सहारा २-० डेन्जोङ ब्वाइज
आजको खेल
हिमालयन शेर्पाविरुद्ध नबिल थ्री-स्टार

Comments

Popular Posts