पुलिस अन्तिम चारमा

ब्रिटिस गोर्खा कप
प्रतिष्ठाले सम्मान दिलाउँछ । तर सधैं प्रतिष्ठाले सुख र आनन्दित अनुभूति गराउने निश्चितता हुँदैन । पुलिसका प्रशिक्षक हरि खड्का र उनका खेलाडीका लागि ब्रिटिस गोर्खा कप फुटबलमा एपीएफविरुद्ध सोमबारको खेल ठीक यस्तै रह्यो ।
'संगठनमा विभागीय टिमसँगको खेल हुँदा प्रतिष्ठाको कुरा आउने गर्छ,' एपीएफविरुद्ध १-० को जित आत्मसात् गर्दै अन्तिम चारमा पुगेपछि 'पोस्ट म्याच कन्फ्रेन्स' मा हरिले भने, 'खेलमा प्रतिष्ठा जोडिँदा जित्नैपर्ने दबाब सधैं बढ्ने गर्छ । व्यक्तिगत रूपमा हाम्रा खेलाडी उच्चकोटिका भए पनि खेल जित्न गाह्रो भयो । राम्रो स्ट्राइकर नभएको स्थितिमा पाएको जित नै महत्त्वपूर्ण हो ।'
गएको सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगमा मुस्किलले रेलिगेसनबाट बचेयता उत्कृष्ट खेलाडी भित्र्याएर नयाँ संरचनामा आएको सशस्त्र प्रहरी बल (एपीएफ) ले 'धेरै राम्रो खेलेको' हरिले बताए । जनपद प्रहरीको टिम (पुलिस) को जितमा जुमनु राईले निणर्ायक गोल गरे । एपीएफको गल्तीमा गोल सम्भव भयो ।
एपीएफका डिफेन्सले क्लियर गर्न नसकेको बल करिब ३० डिग्रीको कोणबाट जुमनुले दायाँ खुट्टाले हानेर ९६ औं मिनेटमा गोल गरे । एपीएफका गोलकिपर समित राजभण्डारीको त्यस बललाई रोक्ने प्रयास सफल भएन । आफ्नै गल्तीमा हार्ने स्थायी रोगसरह भएको एपीएफका म्यानेजर प्रेमकुमार श्रेष्ठले बताए ।
'हाम्रा खेलाडी परिपक्व भइसकेजस्तो लागेन,' हारपछि श्रेष्ठले भने, 'मुख्य डिफेन्स नूरराज काफ्ले घाइते भई मैदानबाहिर रहेको स्थितिमा अर्का डिफेन्डर सुदीप श्रेष्ठले बल होल्ड गर्नुपथ्र्यो, तर उनी बल अगाडि बढाउनतिर लागे । अन्ततः त्यही बललाई पुलिसले नियन्त्रणमा लिएर गोल गर्‍यो । त्यसैले सुदीपकै गल्तीले हार्‍यौं ।'
यो सफलतासँगै पुलिसले एक महिनाअघि बेहोरेको हारको बदला पनि एपीएफसँग लिएको छ । पछिल्लो भेटमा एपीएफ १-० ले पुलिसलाई हराएर मोरङमा काजीमान कन्दङ्वा गोल्डकप विजेता बनेको थियो । गोलकिपर समित बल फुस्काउँदै लडेको स्थितिमा दीपेन्द्र पौडेलको प्रहारमा सुदीपले हेड गर्दै गोल लाइनबाट बल क्लियर गरेपछि पुलिस ३५ औं मिनेटमै अग्रता लिनबाट चुकेको थियो । पहिलो हाफमै नीराजन मल्लको शक्तिशाली प्रहार पोस्टनजिकबाट बाहिरिँदा एपीएफले पनि मौका गुमाउन पुग्यो ।
पेनाल्टी बक्समा एपीएफका 'अनमार्क' गणेश लावतीले ७३ औं मिनेटमा कर्नरमा प्राप्त बललाई पोस्टको दिशा दिन सकेनन् । उनको वान टच प्रहारमा बल पोस्टनजिकबाट बाहिरियो । नीराजनले १ सय १५ औं मिनेटमा ३ यार्डबाट प्रहार गरेको बल डिफ्लेक्ट भई पोस्टमाथिबाट बाहिरिनु एपीएफको दुर्भाग्य रह्यो ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । पुलिस गत वर्ष अन्तिम आठबाटै बाहिरिएको थियो । यो सिजनमा अहिलेसम्म उपाधिविहीन रहेको सहिद समारक 'ए' डिभिजन लिग विजेता पुलिसले फाइनल प्रवेशका लागि चिरपरिचित प्रतिद्वन्द्वी मनाङ-मस्र्याङ्दीसँग खेल्नेछ ।
पुलिस १-० एपीएफ

Comments