Rajendra's Proudness Win
ढाका, माघ २७ - राजेन्द्र भण्डारीलाई सायद विवादले पछ्याउने गर्छ । नत्र उनको अभूतपूर्व उपलब्धि फेरि विवादमा पर्ने थिएन । श्रीलंकामा भएको पछिल्लो सागमा उनले दुई स्वर्ण जित्दा एकैपल्ट महानायक भएका थिए । तर केही दिनको अन्तरमा उनी खलनायक पनि भए, डोपिङमा समातिएपछि । उनलाई एक वर्षको प्रतिबन्ध लाग्यो र त्यसयता उनी मध्यम लामो दूरीका धावकबाट म्याराथन धावक बने । प्रतिबन्ध फुकुवापछि सागमा सफलता चुमी उनले त्यो दोषसमेत पखालेका छन् । त्यसैमा स्वर्णपदक जितेर राजेन्द्रले अभूतपूर्व उपलब्धि आत्मसात गरेका हुन् ।जितेर पनि राजेन्द्र यसपल्ट केही अभागी पनि रहे, नत्र उनले कीर्तिमानी समय पनि निकाल्न सक्थे । दौड ४२.१९५ किलोमिटर हुनुपर्नेमा आयोजकको असावधानीले ३७ किलोमिटरमा सीमित रहेछ । राजेन्द्रले त्यो दूरी समय १ घन्टा ५९ मिनेट ५७ सेकेन्ड मात्रमा पार गरे, यो विश्वकीर्तिमानसमेत थियो । आयोजकले जारी गरेको नतिजामा राजेन्द्र पहिलो भएको मात्र उल्लेख छ, समय छैन । दौड पूरा हुनेबित्तिकै आयोजकले विजयी खेलाडीलाई पदक वितरण गरेको थियो । श्रीलंकाका अजिथ भन्डारा दोस्रो र भारतका राम सिंह तेस्रो भए । अजित राजेन्द्र पछाडि एक मिनेटको दूरीमा थिए । सहभागी खेलाडीबाट दौडको अन्त्यमा खासै विरोध पनि भएन । सामान्य उजुरी मात्र भएको थियो । तर यसले आयोजकलाई अप्ठ्यारोमा पार्यो । यसैलाई लिएर बंगलादेशी एथलेटिक्स संघको आपतकालीन बैठकसमेत बस्यो । उसले आफ्नो असावधानीबारे छानबिन गर्ने जनाएको छ । विवादमा राजेन्द्रको कुनै हात भने थिएन । 'मेरो छविमा लागेको कालो दाग हटाउने काम गरेको छु । यो त सुरुआत मात्र हो,' उनले भने । उनको स्वर्ण कति महत्त्वपूर्ण सावित भयो भने त्यसले नेपाललाई पदक तालिकाको पाँचौं स्थानमा उभ्यायो । यसबाहेक दक्षिण एसियाली म्याराथनमा फेरि नेपालको अस्तित्व देखियो । राजेन्द्रलाई धावकका रूपमा परिपक्व बनाउन महत्त्वपूर्ण योगदान दिएका सुशीलनरसिंह राणाको भनाइ सापटी लिने हो भने उनी अब्बल दर्जाका खेलाडी हुन् । तर ढाकामा प्राप्त सफलताले उनी साँच्चै अब्बल दर्जाका खेलाडी रहेको भने खुलस्त भएको छ । राजेन्द्रको स्थानमा अरू कोही खेलाडी भएको भए, उनी हराइसक्ने थिए । राजेन्द्रले भने आफूलाई फेरि सिद्ध गर्ने अठोट गरे । त्यो अन्ततः मंगलबार बंगलादेशी राजधानीमा पूरा भएको छ ।
Comments
Post a Comment