Bye-Bye Dhaka
ढाका, माघ २७ - फेरि एकपल्ट बंगलादेशी खेलकुदको केन्द्रविन्द रहेको बंगबन्धु रंगशाला रंगीन र भव्य कार्यक्रमको साक्षी बन्यो । ठीक १२ दिनअघि ११ औं दक्षिण एसियाली खेलकुद सुरु भएको थियो । बंगलादेश दक्षिण एसियाको सर्वोच्च खेलकुद महोत्सव तेस्रोपल्ट आयोजना गर्ने पहिलो देश हुँदै थियो । मंगलबार त्यसले सुखद अन्त्य पायो । ढाकाले राजनीतिक रूपमा अलग-अलग रहने गरेका दक्षिण एसियाका आठ देशलाई खेलकुदको मदतले एक स्थानमा ल्याउने कायम गर्यो । खेलाडी मैदानमा रहँदा एकापसका प्रतिद्वन्द्वी त बने, तर त्यसको समाप्तिमा भ्रातृत्व र शान्ति छर्ने काम पनि गरे । अब यस्तै नयाँ जिम्मेवारी भारतले पाएको छ, सन् २०१२ मा भारतले दक्षिण एसियाली खेलकुदको १२ औं संस्करण आयोजना गर्नेछ । भारतीय ओलम्पिक कमिटी अध्यक्ष सुरेश कलमादीले नयाँ संस्करणको आयोजना गर्ने जिम्मेवारी बंगलादेशी पक्षबाट पाए । उनलाई ओलम्पिक झन्डा हस्तान्तरण गरिएको थियो । स्थान र मिति तोकिन भने बाँकी छ । कार्यक्रमको सुरुआत पारम्परिक रूपमा सहभागी खेलाडीको मार्चपासबाट भएको थियो । यसपल्टको कार्यक्रमका प्रमुख अतिथि थिए, बंगलादेशी राष्ट्रपति मोहम्मद रहमान । साढे दुई घन्टा चलेको कार्यक्रममा बंगलादेशी संस्कृति झल्किने गीत र नृत्य प्रस्तुत गरिएको थियो । ती गीत र नृत्यमा बंगलादेशी आदिवासीका संस्कृति बढी झल्काउने प्रयास गरिएको थियो । प्रतियोगितामा सहभागी आठै देशका संस्कृति झल्काउने गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यतिर आकर्षक आतिशबाजी गरिएको थियो । लेजरको प्रस्तुति पनि उत्तिकै आकर्षक रह्यो । प्रतियोगिताको सुरुआतमा बालिएको दक्षिण एसियाली ज्योति निभाइएको थियो । त्यसको प्रतीक थियो, बाईबाई ढाका, भारतमा मिल्ने वाचा ।
Comments
Post a Comment