धनगढी, माघ २६ - दक्षिण एसियाली खेलकुदमा लगातार चौथो पटक स्वर्ण पदक जितेर कीर्तिमान कायम गर्न सफल दीपक विष्टको धनगढीस्थित घरमा सोमबार दिउँसो टेलिफोनको घन्टी बजिरहेको थियो ।इष्टदेवसँग मनमनै छोराको सफलताको प्रार्थना गर्दै दीपककी आमा कलावति करेसावारीमा व्यस्त थिइन् । त्यो फोन काठमडौंबाट उनका महिला छोरा तपेन्द्रको थियो । त्यहाँबाट दीपकले सागमा स्वर्ण जितेको खबर सुनिन् ।उनका आँखाबाट भलभली खुसीका आँसु झरे । लगत्तै उनले धनगढी गाउँमा स्कुलको कामले गएका ५२ वर्षे श्रीमान् महावीरलाई फोन मिलाइन् । छोराको जितको खबर र बधाई साटासाटसँगै पत्रकार घरमै पुगेको समेत खबर गरिन् ।डाक्टर बनाउने सपना बोकेको परिवारलाई आज छोरो खेलाडी भई दिएकोमा बढ्ता खुसी छाएको छ । डाक्टर बनाउन महेन्द्रनगर विज्ञान क्याम्पसमा भर्ना गरेका दीपकले पढाइमा ध्यान नदिएर छिमेकी केशव भट्टको पछि लागेर खेल्नतिर लागेको देख्दा उनकी आमा कलावति जति रिसाउँथिन् त्योभन्दा बढी दीपकले परिवारलाई खुसी भरिदिएका छन् । गाई-गोरु चराउने मैदानमा खेलिरहेको छोरालाई घरमा बोलाउन लाठी लिएर जाने तिनै आमाले भनिन्, 'छोराले पहिलो स्वर्ण जितेपछि मात्रै परिवारलाई लाग्यो खेलमा पनि धेरै कमाउन सकिने रहेछ ।' उनले थपिन्, 'दाम त होइन् नामले डाक्टर/इन्जिनियर भएको भन्दा बढ्ता खुसी आज छोराले घरमा ल्याएको छ ।'छोरालाई खेलमा लगाएर पढाइ बिगार्दै छन् भनेर गुरु गोविन्द विष्ट र छिमेकी केशव भट्टसँग रिसाउने परिवार आज छोराको जितमा तिनैप्रति अभार व्यक्त गर्छ । आमा कलावतिले भनिन्, 'गुरु गोविन्द र केशवलाई छोराका हरेक जितसँगै सम्झने गरेका छौं र उनीहरूको देनका कारण छोराले नाउ कमाएको छ ।'दीपकका घरेलु गुरु गोविन्द विष्टले भने, 'मैले प्रशिक्षण दिएर जति चेला जन्माएँ ती सबैमा भएको मेरो लगानी एक्लै दीपकले फर्काइरहेको छ ।' दीपकको सफलता नै आफ्नो लगानी भएको गुरु गोविन्दले भने ।डडेल्धुरा चमडा गाविस बसौना पहाड घर भएका महावीरको परिवारमा दीपक सबैभन्दा जेठा छोरा हुन् । हाल धनगढी चटकपुरस्थित उनको घरमा आमा कलावति र बुवा महावीरमात्रै बस्ने गर्छन् । उनी पछि दुई छोरा छन् । बुवा महावीरले भने, 'छोराले जे गर्दै छ, त्यो राष्ट्रका लागि गर्दै छ । 'अब राष्ट्रले नै भविष्यको रेन्टीसमेत गरिदिनु पर्छ', लगातार साग खेलमा सहभागी भई स्वर्ण विजेता दीपकको खेलमै खुट्टामा समस्या आएको स्मरण गर्दै बुवा महावीरले भने, 'बाहुबल सकिएपछिको वृद्धा अवस्थासम्मका लागि सरकारले व्यवस्था गर्नुपर्छ ।'

Comments

Popular Posts