आरसीटीलाइ उपाधि


धरान, फाल्गुन २ - पुलिसको चुनौती टाइब्रेकरमा शनिबार समाप्त पारेर आरसीटी १२ औं बूढासुब्बा टुबोर्ग गोल्डकप फुटबल च्याम्पियन बनेको छ ।टाइब्रेकरमा गोलकिपर दिलीप क्षेत्रीले नायकको भूमिका निभाएपछि आरसीटीले दशकयता पहिलोपल्ट उपाधि जितेको हो । काठमाडौंमा ०५७ सालमा कोलकाताको बेल्गेरियालाई १-० ले हराएर शुभजन्मोत्सव कप जितेयता आरसीटी उपाधिविहीन रहेको थियो । उसले १ लाख ५० हजार रुपैयाँ हात पार्‍यो भने पुलिस ७५ हजारमै रोकियो ।निर्धारित ९० र थपिएको १५ मिनेट २-२ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । त्यसमा आरसीटीले आफ्नो पक्षमा ३-१ को नतिजा निकाल्यो । दिलीपले तीन खेलाडीको प्रहार असफल पार्दै एक साताभित्र दुई उपाधि जित्ने पुलिसको योजना विफल पारेका थिए । गएको शनिबार मात्रै पुलिसले पोखरामा आहा गोल्डकप जितेको थियो ।टाइब्रेकरमा भोला सिलवाल, योगेश श्रेष्ठ र रविन श्रेष्ठले प्रहार गरेको बल दिलीपले आफ्नो पञ्जामा पारेका थिए । दिलीप 'म्यान अफ द फाइनल' रहे । 'म्यान अफ द सिरिज' चुनिएका दीपेन श्रेष्ठले मात्र पुलिसका लागि गोल गरे । आरसीटीका कृष्ण कुँवर, सन्तोष गुरुङ र दीपक राईको प्रहार गोलमा परिणत भएको थियो ।युवा खेलाडीको फिटनेस नै जितको आधार भएको आरसीटीका प्रशिक्षक मधु कार्कीले बताए । 'त्यसमा दिलीपको प्रदर्शन उत्कृष्ट रह्यो,' उनले थपे, 'लामो समयपछि उपाधि जित्न पाएकामा खुसी छौं ।' प्रशिक्षकको जिम्मेवारी लिएको दोस्रो प्रतियोगितामै मधुले आरसीटीलाई सफलता दिलाएका थिए । तीन वर्षअघि बुट थन्क्याएका उनले खेलाडी छँदा २०५५-५७ मा दर्जन उपाधि जितेको सम्झिए ।'त्यो समयमा हामी नेपालको सर्वोत्कृष्ट क्लब थियौं,' मधुले भने, 'बूढासुब्बाको सफलताले फेरि आरसीटीलाई पुराना दिनमा फर्काउने प्रयास गर्नेछ ।' माघ १५ गतेबाट धरानमा गरेको अभ्यासले पनि आरसीटीको सफलतामा सहयोग गरेको थियो । खेलाडीले क्षमताअनुसारको खेल देखाउन नसकेका कारण सर्वाधिक चौथोपल्ट बूढासुब्बा गोल्डकप जित्ने चाहना अधुरै रहेको पुलिसका सहायक प्रशिक्षक हरि खडकाले बताए ।पूर्वेली युवा खेलाडीले भरिएको आरसीटीले उत्कृष्ट प्रदर्शन गर्दै एक गोलले पछि परेको स्थिति उल्टाएको थियो । दीपेन श्रेष्ठको गोलमा पुलिसले २८ औं मिनेटमा अग्रता लिए पनि ऋषि राईले ५२ औं मिनेटमा गोल गर्दै आरसीटीलाई १-१ को स्थितिमा पुर्‍याए ।दीपकले ७२ औं मिनेटमा गोल गरेर आरसीटीलाई २-१ ले अगाडि बढाए । त्यसको एक मिनेट बित्न नपाउँदै रोशन कार्कीको गोलमा पुलिसले २-२ को बराबरी गर्‍यो । चोटग्रस्त जुमनु राई, अनन्त थापा, राकेश श्रेष्ठ, चेतन घिमिरे र दीपक पौडेलको अनुपस्थिति पुलिसलाई फाइनलमा खट्केको थियो । पुलिसका दीपेन योगेशसँगै उदीयमान खेलाडी पनि भए । 'म्यान अफ द सिरिज' पनि चुनिएका दीपेन श्रेष्ठ पुलिसकै, रोशन कार्की, धरानका लक्ष्मी श्रेष्ठ र नाइटचेसका प्रेम लिम्बूसँगै सर्वाधिक गोलकर्ता पनि रहे ।

Comments