शोकलाई शक्तिमा बदल्न चाहन्छ, कोलम्बिया

खेल हारेपछि मारिएका आफ्ना खेलाडीप्रति समर्पित हुँदै कोलम्बिया विश्वकपको क्वाटरफाइनलमा आज राति आयोजक ब्राजिलविरुद्ध उत्रिदैंछ ।
सन् १९९४ मा अमेरिकामा आयोजित विश्वकपमा गोल्डेन जेनेरेशनका खेलाडी सम्मिलित कोलम्बिया पनि सहभागी थियो । कोलम्बियाको समूहमा आयोजक अमेरिका, रोमानिया र स्विट्जरल्याण्ड थिए । कोलम्बियाले समूह चरण सजिलै पार गरेर दोस्रो चरणमा पुग्ने सबैको अनुमान थियो ।
तर, कोलम्बियाले समूह चरणअन्तर्गत आफ्नो पहिलो खेलमै हार व्यहोर्यो । त्यसैले अर्को चरणमा प्रवेश पाउनलाई उसले दोस्रो खेलमा जित्नैपर्ने वा बराबरी खेल्नुपर्ने थियो । समूह चरणको दोस्रो खेलमा आयोजक अमेरिकाविरुद्ध दबाबमा उत्रिएको कोलम्बियाले ३५ औं मिनेटमै आत्मघाती गोल खानपुग्यो । त्यो गोल भरपर्दा डिफेन्डर आन्द्रेस इस्कोबारको खुट्टामा ठोक्किएर भएको थियो । ५२ औं मिनेटमा अमेरिकाले फेरि अर्को गोल थप्यो । कोलम्बियाले ९० औं मिनेटमा एक गोल त फर्कायो, तर त्यो बेला निक्कै ढिला भइसकेको थियो ।
खेल २–१ गोल अन्तरले हारेसँगै कोलम्बिया विश्वकपबाट बाहिरियो र हारमा ‘खलनायक’ ठहर्‍याईयो २७ वर्षीय डिफेन्डर इस्कोबारलाई । सबैभन्दा दुःखको कुरा अमेरिकासँग खेल हारेको १० दिनपछि इस्कोबार कोलम्बियाको एक रेष्टुरेन्टमा गोली हानेर मारिए । असफलताको सम्पूर्ण दोष इस्कोबारलाई लगाउँदै सट्टाबाजीमा संलग्न केही व्यक्तिले उनलाई गोली हानेका थिए ।
कोलम्बियाको फूटबल इतिहासमा त्यो घटनालाई ‘कालो दिन’को रुपमा लिइन्छ । त्यो घटनाको बीस वर्षपछि कोलम्बिया ब्राजिलमा जारी विश्वकपको क्वाटरफाइनलमा पुगेको छ । जारी विश्वकपको पहिलो क्वाटरफाइनलमा कोलम्बिया आयोजक ब्राजिलविरुद्ध उत्रिदैं छ, २० असार राति १.४५ बजे ।

Comments

Popular Posts